नियम २९
निवेदनपत्रमा खुलाउनु पर्ने कुरा
(१) नियम २३ मा उल्लिखित विषयहरूका अतिरिक्त मुद्दासँग सम्बन्धित प्रत्येक निवेदनपत्रमा देहायका कुराहरू छोटकरीमा स्पष्ट लेखिएको हुनु पर्छः-

(क) मुद्दाको नाम, मुद्दा परेको साल र मुद्दाको नं., (ख) निवेदनपत्रको विषय, माग गरेको कुरा, त्यसको कारण र आधार तथा सम्बद्द कानून, र (ग) अन्य आवश्यक कुराहरू। (२) कुनै अन्तरकालीन आदेशको लागि दिएको निवेदनपत्रमा निवेदकले आफ्नो विश्वासको कुनै कुरा उल्लेख गरेकामा निजले विश्वास गरेको कुरा र त्यस सम्बन्धी देहायका विवरण वा आधार उल्लेख गर्नु पर्छः (क) अरु कसैसँग बुझेर उल्लेख गरेको रहेछ भने त्यस्तो व्यक्तिको नियम ३२ बमोजिमको विवरण, र

(ख) कुनै लिखतको नक्कलका आधारमा उल्लेख गरेको रहेछ भने सो लिखत वा लिखतको नक्कल पाएको ठाउँ वा तरिका र त्यस्तो कुराको सत्यतामा आफ्नो विश्वासको आधार ।

(३) कुनै अड्डा वा अदालतमा भएको कुनै मिसिल वा लिखत झिकाइ पाउँ भन्ने निवेदनपत्रमा यथासम्भव देहायका कुराहरू पनि खुलाउनु पर्छ:-

(क) मिसिल वा लिखत भएको अड्डा वा अदालतको नाम र ठेगाना,

(ख) लिखत सामेल रहेको मुद्दाको नं. र नाम,

(ग) लिखतको मिति,

(घ) लिखत लेखिएको भाषा र विषय,

(ङ) मिसिल वा लिखत कुन तथ्यको पुष्ट्याई वा खण्डनको लागि आवश्यक र प्रमाणको रूपमा ग्राह्मा छ भन्ने कुरा, र

(च) मिसिल वा लिखतको अन्य परिचयात्मक विवरण ।

(४) फैसलाको कार्यान्वयन स्थगित राखिपाउँ भन्ने निवेदनपत्रमा निवेदकले लिएको दाबीलाई पुष्ट्याई गर्ने आवश्यक लिखतहरू संलग्न हुनुको साथै देहायका कुराहरू पनि खुलाइएको हुनुपर्छ:-

(क) जुन फैसला बमोजिम हुने कारबाहीलाई स्थगित राखिपाउँ भनेको छ सो फैसलाको मिति,

(ख) लिलाम बिक्री गर्ने आदेश भएको भए सो आदेशको मिति,

(ग) लिलाम बिक्री गर्ने तारिख मुकरर भएको भए सो तारिख, र (घ) निवेदनपत्रमा लेखिएको विषयमा अदालतलाई विश्वास दिलाउन सकिने तथ्यहरू।

(५) धरौटी वा जमानतको लागि दिइने निवेदनपत्रसाथ धरौटी र जमानी सम्बन्धमा सर्वोच्च अदालतबाट कुनै कार्यविधि वा निर्देशिका जारी भएको रहेछ भने त्यसमा उल्लिखित कागज प्रमाण वा अन्य आवश्यक लिखत पनि संलग्न गरेको हुनुपर्छ।